खनियाबास गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लिलामान तामाङले पदभार ग्रहण गरे पछिको पहिलो १०० दिनको कार्यहरु सार्वजनिक गरेका छन् । महत्वपूर्ण कार्यहरुको विवरण यसरी सार्वजनिक गरेका छन् ।

वडा अध्यक्षको पदभार ग्रहण पछि मेरो १०० दिनको कार्यहरु :
१.औषधी-उपचार, छात्रवृत्ति, राहत, अपाङ्गता, आर्थिक सहायता सम्बन्धी सिफारिस बापतको दस्तुर नि:शुल्क गरियो ।

२.यस वडा अन्तर्गत भैलो गाउँ/ बिसान टोल जिल्लाकै छैटौं र गाउँपालिकाको दोश्रो नमुना, सफा र स्वच्छ गाउँ घोषणा गर्न सफल । हाल अन्य टोलहरुमा समेत उक्त कार्यक्रम संचालनमा रहेको र निकट भविष्यमा सिङ्गो वडालाई नै नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरिने तत्पश्चात दोश्रो चरण अन्तर्गत पूर्ण सरसफाइ उन्मुख क्षेत्रमा प्रवेश गर्ने लक्ष्य ।

३. गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न दलमा आबद्ध नेताहरुको समन्वयमा स्थानीय तह, प्रदेश, संघ र बिभिन्न निकायहरुबाट आ.व. ०७९/०८० मा यस वडामा मात्रै रु.१२ करोड १० लाख १४ हजार बजेट भित्र्याउन सफल भएको छ ।

४. साझेदारीमा कृषि उद्यमशीलता कार्यक्रम अन्तर्गत विभिन्न महिला समुहहरुलाई उन्नत जातको २४ गोटा बाख्रा वितरणका साथै सुधारिएको खोर निर्माणको लागि नगद बितरण ।

५. यस वडा अन्तर्गत हालसम्म सडक सन्जालले नजोडिएको घ्याङ्साङ- धार्नाबेंसी सडक ट्र्याक खोल्नको लागि आवस्यक बजेटको व्यवस्था भएको छ ।

६.विविध कारणबश सम्झौता समेत हुन नसकि अबरुद्ध रहेको थानीबास बृहत खानेपानी आयोजना सन्चालनमा ल्याउन सफल र हाल कार्यान्वयनको चरणमा रहेको छ।

७. गा.पा. अन्तर्गत आर्थिक बिकास समितिको संयोजक र श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको सदस्य पदमा रहि ज्ञान र विवेकले भ्याएसम्मको जिम्मेवारी बहन गरेको छु ।

८. वडा कार्यालयबाट गरिने दैनिक प्रशासनिक कार्य सम्पादन लगायत अन्य सेवा प्रवाहमा कुनै कसर बाँकी नराखी चुस्त, छरितो र पारदर्शी बनाएको छु ।

९. गाउँ सभा र कार्यपालिकाको बैठकहरुमा देहायका बिषयहरुमा पहलकदमी भूमिका निभाउँदै महत्त्वपूर्ण निर्णयहरुमा हस्ताक्षर गरेको छु –

क) कृषि बिज्ञान केन्द्र स्थापना तथा सन्चालनार्थ आवश्यक बजेट बिनियोजनको निर्णयमा हस्ताक्षर गरेको छु ,

ख) निर्धारित समयसीमा भित्र कार्य सम्पन्न नगर्ने ठेकेदार कम्पनिहरुलाई नियमानुसार कारबाही गर्ने निर्णयमा हस्ताक्षर गरेको छु ।

ग) स्थानीय पाठ्यक्रम लागू तथा कार्यान्वयन गर्ने, गराउने निर्णयमा हस्ताक्षर गरेको छु ।

घ) प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई आ.व. ०७८/०७९ मा बिनियोजित छात्रवृत्ति बापतको रकम प्रदान गरिसकेको छ र आ. व. ०७९/०८० मा पनि सोही कार्यक्रमलाई निरन्तरता दिईएको छ, जुन निर्णयमा हस्ताक्षर गरेको छु ।साथै आर्थिक रुपमा बिपन्न मृतकको परिवारलाई आर्थिक सहायता, बिपतमा परेकाहरुलाई राहत बितरण लगायतको निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

ङ) रेडियो सिङ्ल्ह सन्चालन गर्ने निर्णयमा हस्ताक्षर गरेको छु।

च) खनियाबास ग्रामिण अस्पतालको स्तरोन्नति तथा ५ शैय्या अस्पताल भवन निर्माणको लागि आवश्यक जग्गाको व्यवस्था, र सम्बन्धित निकायमा बजेट तथा स्वीकृति माग गर्ने निर्णयमा हस्ताक्षर गरेको छु ।
छ) SEE मा GPA- B वा सो भन्दा माथि अंक प्राप्त गरि शिक्षा संकाय अध्ययन गर्ने बिद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेको छु ।

ज) बिद्यालय शैक्षिक सुधार कार्यक्रम, बिषयगत शिक्षक, बिद्यालय सहजकर्ता, बि.ब्य.स./शिक्षक अभिभावक संघ र प्र.अ./लेखा सहायक तालिम/ क्षमता अभिवृद्धि कार्यक्रमको लागी आवश्यक बजेटको बिनियोजन भएको छ, सो निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

झ) घुम्ती स्वास्थ शिबिर, प्रसुती प्रतिक्षालय गृह सन्चालन निरन्तरता, जनस्वास्थ्य प्रबर्द्धन कार्यक्रम, स्वास्थ्य बिमा सन्चालन कार्यक्रम र विभिन्न स्वास्थ संस्थाहरुमा ल्याब स्थापनाको लागि बजेटको प्रबन्ध भएको छ , सोही निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

ञ)ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ तथा अपाङ्गता भएकाहरुका लागि स्वास्थ्य जाँच शिविर सन्चालन, हिँसा पिडित महिलाहरूको लागि मनोपरामर्श सेवा, किशोरकिशोरीहरुका लागि नेतृत्व बिकास तालिम, महिलाहरुको लागि बित्तीय साक्षरता कार्यक्रम, द्वन्दपिडीत तथा आमाबाबु बिहिनहरुको लागि छात्रवृत्ति कार्यक्रम लगायतका निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

ट) हेफरसंगको साझेदारीमा कृषि उद्यमशीलता कार्यक्रम, सामुहिक खेती प्रबर्द्धन कार्यक्रम, कृषक पाठशाला, आलु पकेट बिकास कार्यक्रम, कफी प्रबर्द्धन, केरा लगायत स्थानीय तवरमा उत्पादित फलफूल तथा खेती प्रबर्द्धन कार्यक्रम, स्थलगत बाली बिशेष व्यावसायिक तालिम, पशु स्वास्थ्य शिविर, व्यावसायिक पशुपन्छी तालिम, पशुबिमा अभिमुखिकरण, तरकारी तथा फलफूलहरुको लागि शीत भन्डार निर्माण लगायतका निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

ठ) युवा तथा महिला लक्षित रोजगार सिर्जना हुने सीपमूलक लघु उद्यम कार्यक्रम , खेलकुद कार्यक्रम, संस्कृती प्रबर्द्धन, बन तथा भू- संरक्षण, बिपद जोखिम न्यूनीकरण, बिपद पुर्ब तयारी तथा प्रतिकार्य, सहकारी सफ्टवेयर तालिम लगायतका निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

ड) विभिन्न कार्यबिधी, निर्देशिका, मापदण्ड लगायत कानुन निर्माण र गा.पा. मा रिक्त पदमा कर्मचारी पदपूर्ति गर्ने लगायतका निर्णयहरुमा हस्ताक्षर गरेको छु ।

विविध:
– घटना दर्ता (जन्मदर्ता,विवाहदर्ता, मृत्युु दर्ता, बसाइँसराइ, सम्बन्ध बिच्छेद ) online प्रविष्टि प्रक्रियामा रहेको र केही दिन भित्रै कार्यान्वयनमा आईसक्ने।
– वडा भित्रको केही ठूला आयोजनाहरुको टेन्डर आव्हान भईसकेको छ भने उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरुको उपभोक्ता समिती गठन प्रक्रिया तीब्र तयारीको अवस्थामा रहेको ।