सिङ्ल्हामा मेला २०७९

-गोपाल फ्युवा, खनियाबास

भदौ,२०७९

सिङ्ल्हा फो ज्यवासिङकी ल्हइ दामो
म्हछेम्पो मछेमेनकी दापो
टशिफुन्छो ग्यापल
मिन्द्र नमेनछो छोपल
ब्रिलुङछ्यो ग्यापल


आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक र भौगोलिक महत्व र सुन्दरताले भरिभराउ सिङल्हाको बखानलाई तामाङ बोम्पोहरुले स्वरमा स्वर र तालमा ताल मिलाई माथिका शब्दहरु दोहोर्याई फलाक्ने गर्दछन् । यसमा सिङल्हा धेरै हिसााबले पवित्र, पुज्य र आरधनास्थल रहेको व्याख्या गरिएको छ । धार्मिक मात्र नभई अरु धेरै पर्यटकलाई आकर्षित तुल्याउन सक्ने सिङ्ल्हाको संरक्षण, प्रचारप्रसार हुनु जरुरी छ । सिङल्हको महिमा उजागर गर्ने हेतुले यसपटक गत हप्ता साउन २७ गते एक कार्यक्रम सम्पन्न भएको छ । कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्रालयका पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिनको प्रमूख आतिथ्यतामा सिङ्ल्हा परिसरमा नै कार्यक्रम भएको हो । दिलमान पाख्रिन कार्यक्रम कै लागि काठमाडौंबाट हेलिकप्टर चार्टर गरी कार्यक्रमस्थल पुगेका थिए । तर कार्यक्रमले आवश्यकता बमोजिमको चर्चा भने पाउन सकेन । यसका लागि अनेकन कारणहरुले काम गरेका होलान् वा फेसबुकमा प्रोफाइल पिक्चर राखेर प्रचार भयो भन्ठाने । के कारणले पर्याप्त चर्चा पाएन त्यो अर्कै पाटो हो । यो आलेखमा सिङ्ल्हाको यसपटकको मेलामा के के भए त्यसको चर्चा गरौं ।

यसपटक सिङ्ल्हा मेलामा विशेष गरी प्रमुख अतिथिको रुपमा कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्रालयका पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङ र उपाध्यक्ष फेलामा तामाङ लगायत कलाकार, लेखक, पत्रकारहरु समेत उपस्थित थिए । यसको अर्थ सिङ्ल्हाको बारेमा भलो चिताउनेहरुको जमात बढ्दै गइरहेको छ । यसको संरक्षण, संबर्धन र प्रबर्धनका अनेककन प्रयासहरु भइरहेका छन् । परम्परागतरुपमा धादिङ, नुवाकोट र रसुवासम्मका खासगरी पाँचसय खोला र सातसय खोलाभरका गाउँहरुको आरध्य इष्टदेवीको रुपमा सिङल्हा रहेको छ । त्यसैले लामो समयदेखि बोम्पो र लामाहरु हरेक वर्षको भदौ पूर्णिमाको दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । त्यो परम्परा बोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरुलाई दिक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । बोम्पोहरु सिङ्ल्हामा गएर वङ्गुर लिन दिन पाउनु सौभाग्य ठान्ने गर्दछन् । त्यसैले यसपटक रुबीभ्याली गाउँपालिकाले बोम्पो र उनका सहयोगीहरुलाई खाना र बासको प्रबन्ध गरिदिएका थिए । अध्यक्ष रामसिङ तामाङ र उपाध्यक्ष फेलामा तामाङ लगायत जनप्रतिनिधिहरु बेम्पोसँगै सोई बोम्पो सोई गरेर साथ र हौसला दिन सहभागी भएका थिए । बोम्पो शुरु गर्न छ्योमे बाल्दादेखि घरमा पस्न ३ दिनसम्म साथ दिएका थिए । यसले परम्परागत संस्कृति, परम्परा र प्रथाप्रति रुबीभ्यालीका जनप्रतिनिधिको आशय झल्किन्छ । सिङल्हामा कलाकार, लेखक, पत्रकारहरुको पनि बाग्लो उपस्थिति थियो । दर्जनौ बोम्पोहरु, सयौं सहयोगी र हजारौ तीर्थयात्रीहरु रहेका थिए । टाढा टाढाबाट ४ दिन यात्रा गरेर समेत आइपुगेका थिए । धेरै दर्शनार्थीहरुको सहभागिताले सिङ्ल्हाको चउर भरिभराउ भएता पनि व्यबस्थित तवरले बस्न, खान र दर्शन गर्न भने पाएको छैन । यसबारेमा सबैको ध्यान जान जरुरी छ । सिङ्ल्हालाई केही समयदेखि धार्मिक प्रयोजनको लागि मात्र नभएर अन्य पर्यटकीय प्रयोजनको लागि समेत विकास गर्ने प्रयास भइरहेको छ । पदयात्रा गर्न, हिउँमा स्केटिङ खेल्न, हाप्रे हेर्न, लालिगुरासका अनेक प्रजातिसँग साक्षत्कार गर्न, पिकनिक, भेला वा सम्मेलन आदि गर्न समेत उपयुक्त देखिएको छ ।


पहिले गाउँ विकास समिति रहँदैमा झार्लाङ र सेर्तुङले सिङल्ह प्रवर्धनको लागि पहल गरिरहेको थियो । सिङ्ल्हा जाने गोरेटो निर्माण कार्यहरु जिल्ला विकास समितिसमेतको सहयोगमा भइरहेको थियो । गाउँपालिकाको नयाँ संरचना अनुसार झार्लाङ खनियाबास गाउँपालिकामा र सेर्तुङ रुबीभ्याली गाउँपालिका अन्तर्गतको वडाहरुमा बिभाजित हुन पुगे । गाउँपालिकागत संरचना नयाँ भएको र सरकार सञ्चालनमा नविन अवधारणा भएकाले अलमल अलमलमा नै धिमा गतिमा स्थानीय सरकार सञ्चालन भइरहेको छ । त्यसैले सेर्तुङ र झार्लाङले आफ्नो भनिरहेको सिङल्हालाई खनियाबास र रुबीभ्यालीको योजनाको प्राथमिकता क्रममा पुछारतिर पर्न गयो । त्यसका लागि निर्वाचित जनप्रतिनिधिको पर्याप्त पपहलकदमी हुनु आवश्यक छ । यसको लागि स्थानिय वडा, गापा, जिसस तथा सरकारी, गैर सरकारी संघ संस्था र निकायको ध्यान आकृष्ट गराउनु जरुरी छ । स्थानीय ताम्बा, बोम्पो, लामा, राजनीतिज्ञ र बुद्धिजीविहरूको योगदान उल्लेख्य रहेको छ र रहिरहनेछन् । योजनाका खाकाहरू कोर्दा यस्ता कैयौ उपेक्षित तर महत्वपूर्ण स्थानहरुको बारेमा पनि गम्भीर हुनु जरुरी छ ।

स्पष्टतः खनियाबास गाउँपालिकाले सिङ्ल्हाको डिपिआर बनाइससकेको र सो बमोजिम कार्य गर्न प्रदेश, संघका सरकार लगायत अन्य निकायहरु धाएको र पहलकदमी लिइरहेको खनियाबास गाउँपालिकाको अध्यक्ष रणबहादुर तामाङले कार्यक्रममा बताउनु भयो । रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङले सिङ्ल्हाको प्रबर्धनमा गाउँपालिकाको तर्फबाट कामहरु भइरहेको तर खनियाबासले बनाएको डिपिआरमा के छ ? डिपिआरमा के के समेटेको छ ? सिङ्ल्हाको हितमा छ कि छैन ? यो सबै सरोकारवालालाई थाहा दिनु पर्दछ । दराजमा थन्क्याएर राखेको डिपिआरले काम नगर्ने हुनाले सार्वजनिक गरी छलफल गर्न सुझाव दिनुभएको थियो । प्रमुख अतिथि दिलमान पाख्रिनले संघ तथा प्रदेशमा आफुले पनि पहल गरिदिने र नजिकका पालिकाहरुले समन्वय र छलफल गरेर उचित बजेट विनियोजन गरी सिङ्ल्हालाई पर्यटकीय हब बनाउन सुझाव दिनुभयो । त सोध खोज गर्नेलाई प्रष्ट जानकारी नै दिन्छन् ।
स्वतन्त्ररुपमा सिङ्ल्हाको बारेमा विभिन्न पत्रपत्रिकामा लेखहरू प्रकाशित भइरहेका छन् । चलचित्र तथा गीतका सुटिङहरु भइरहेका छन् । गुगल म्यापमा पनि यसलाई अंकित गरिएको पाइन्छ । खासगरी स्थानीय सञ्चार माध्यममा यसबारेमा चर्चा चलेको पाइन्छ । साहित्य सिर्जनाको क्रममा पनि सिङ्ल्हालाई समेटेको पाइन्छ । अब बृहत्तर रुपमा यसको परम्परागत मान्यता र स्वरुपमा फरक नपर्ने गरी आधुनिक तवरले प्रवर्धन गरिनु जरुरी देखिन्छ ।

 

SINGLHA DOCUMENTARY

2.