रोशनी गोले, काठमाडौ ।

श्रावण । धादिङ जिल्लाको धार्मिक तिर्थस्थल सिङलामा जनैपूणिर्माका दिन भव्यरुपमा मेला  सम्पन्न भएको छ ।

रुबीभ्याली गाउँपालिका र खनियाबास गाउँपालिकाको सिमानामा रहेको सिङ्ला मानेमा जनैपूणिर्माका दिन झाँक्री/बोन्बो र लामाहरु उपस्थिति भइ विशेष पुजापाठ गर्ने गर्दछन ।

रुबीभ्याली गाउँपालिकाले आफ्नो धार्मिक कला संस्कृति जगेर्नाका निम्ति रुबीभ्यालीबाट सिङ्ला जाने झाँक्री/बोन्बो र लामाहरुलाई खाना बस्न व्यवस्था सहित रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङको हातबाट सिङ्लामा २१ फिट्को त्रिशुल पनि अनावरण गरिएको कार्यक्रम संयोजक च्याङबा तामाङले बताए ।

सिङ्लामा जनैपूणिर्मा मेला हेर्न आन्तरिक तथा वाह्य पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सिङ्ला तामाङ शब्द सिङ र ल्ह मिलेर बनेको हो, जसको अर्थ चेली र देव-लेक हुन्छ । आफ्ना दुई छोरी हैजाको कारण मृत्यु भएपछि राजाले एकको नाममा मन्त्र खोपेको सोकसिङ गाडेर सिङ्ल्हमा कुङ्कर बनाए र अर्कीको नाममा त्यसैगरी नुवाकोट जिल्लाको फ्युकुरीमा अर्को कुङ्कर बनाए भन्ने किम्बदन्ती पाइन्छ ।

अर्को किम्बदन्ती अनुसार मङ्च्यतमा गोठ ल्याएको एक गोठालाको सपनामा चमत्कारपूर्ण परीले त्यस ठाउँमा भक्तिभाव तथा पूजा अर्चना गर्नु भनेकाले त्यहाँ कुङ्कर स्थापना गरिएको हो भनिन्छ । बोन धर्मको प्रभाव रहेको त्यस बेला बोम्पोहरूलाई सुख, शान्ति र समृद्धिको लागि पूजापाठ गर्न लगाए । त्यो भदौपूर्णिमा (गोनेङ्या) को दिन परेकोले त्यही बेलादेखि प्रत्यक वर्ष गोने ङ्याको बेला बोम्पो मेला लाग्ने गरेको अनुमान गर्न सकिन्छ । यसदिन धादिङ, रसुवा र नुवाकोटदेखिको बोन्बोहरू चेलालाई वाङकुर दिन वा आफै थप शक्ति प्राप्त गर्ने उद्देश्यले प्रत्येक गोने ङ्यामा आउने गर्दछन् ।