रोशनी गोले,
जुगल सि.पा.

सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालीका वडा ५ र ६ को सिमाना बराम्चीमा अवस्थित दोमाङ पोखरीमा बिगतका बर्षहरुमा भन्दा बिशेष मेला साउन २७ गते जनै पूर्णिमाको दिन लाग्ने भएको छ ।

दोमङ पोखरी महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थल हो । परापूर्वकालदेखि नै स्थानीय बासिन्दाहरुले धार्मिकस्थलको रुपमा श्रद्धा, आश्था भावकासाथ मान्दै आएका छन् । भदौ पुर्णिममा स्थापना गरेको हुनाले हरेक भदौ पुर्णिमामा झाँक्रीहरु सहित हजारौ भक्तजनहरु मेला भर्न आउने गर्दछन् ।
सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालीका वडा ५ र ६ को सिमाना बराम्चीमा अवस्थित दोमाङ पोखरी ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित छ । यो समुन्द्री सतह देखि २१५० मिटर उचाईमा रहेको छ । घना जङ्गलको बिचमा रहेको यस पोखरिको वरिपरि महादेवको थान र गेगङ थान रहेका छन् । गेगङ थानमा चढाउन तथा पुजा गर्नको लागि हरेकले त्रिशूल बोकेर आउँने गर्दछन् । महादेवको थानमा खेतिपाती , पशु वृद्धि, धन आर्जन तथा सन्तान प्राप्तिको लागि पुजा गर्न आउने गर्छन भने गेगङ थानमा सफल बैदेशिक यात्रा तथा मुद्दा मामिला जित्नको लागि पुजा गर्न आउने चलन रहेको छ । गेगङ तामाङ शब्द गे पोखरी र गङ डाँडा मिलेर बनेको हो, जसको अर्थ पोखरी माथिको डाँडा हुन्छ । गेगाङबाट जुगल हिमश्रृङ्खलाहरु देखिन्छ,
यिनीहरूका मान्यता अनुसार प्रत्येक गाउँहरूको निर्माणसँग–सँगै सो गाउँमा कुनै न कुनै शक्तिको प्रकट हुने गर्दछ । त्यसैले गाउँको सुरक्षा गर्नसक्ने हैसियत समेत राख्ने हुनाले गाउँ तथा समाजको सुरक्षार्थ त्यस्ता शक्तिको पूजाअर्चना गर्नुपर्दछ । गाउँको देउतालाई खुशी पार्न सकिएमा गाउँ दैवी प्रकोप, महामारी आदिबाट सुरक्षित हुने गर्दछ भने खेतीबाली, बस्तुभाउमा पनि राम्रो हुने गर्दछ ।
गेगङमा सबैभन्दा ठुलो चेन देवता रहेकोले बोम्पो सम्प्रदाय मान्नेहरु माझ धेरै पहिलादेखि गेगङ प्रचलनमा रहेका छन् ।

किम्बदन्तीहरु
महादेव थानमा रहेको बास्साको मुर्ति उहिले गोल्चे यार्सा गाउँको सुनार बाजेले दोलखाबाट ल्याएर महादेव थानमा स्थापित गरेको र सात पुस्ता अगाडि नयाँ लामा बाजेले चाँदीको पैसामा बास्साको मुर्ति किनेर राखेको किम्बदन्ति पनि पाईन्छ । बास्साको मुर्ती दुई तीन पटक हराएको र हरेक पटक बास्साको मुर्ति हराउदा गाँउमा पहिरो जाने, असिना पानी पर्ने गरेको किम्बदन्तिहरु पाइन्छ ।
एकपटक चोरी गरि लगेको तर गाडीमा हाल्ना साथ गाडी बिग्रेकोले लान नसकेको र हावा हुरि असिना परेकोले बाटोतिरै फालेर गएको र फेरि यथा स्थानमै लगेर राखिएको थियो । ३ वर्ष अगाडि पनि मुर्ति हराएको र सोही दिन ठूलो हावाहुरी सहित पानी परेकोले त्यही ठाउँको बराम्चीमा ठूलो पहिरो गएको थियो । केही महिना पछि बराम्चीको जङ्गलमा बाख्रा चराउने गोठालोले भेटे पछि लामागुरु मार्फत पुजा गरि प्रहरीको रोहबरमा यथा स्थानमा राखिएको र बराम्चिको पहिरो पनि रोकिएको भन्ने भनाइ पाइन्छ ।
केही वर्ष अगाडि एकजना युवा पोखरीमा डुबेर हराए पछि आमाले पोखरी वरिपरि गाईको दूध छर्काए पछि मात्र मृत शरीर पोखरी बाहिर आएको किम्बदन्ति पनि रहेको छ ।

यहाँ विभिन्न धर्मलम्बिहरु पुजाअजाका लागि आउने गर्दछन् । बोन धर्मको प्रभाव रहेको त्यस बेला बोम्पोहरू सुख, शान्ति र समृद्धिको लागि पूजापाठ गर्न लगाए । सात पुस्ता अगाडिको नयाँ लामा देखि त्यहाँको थानहरुमा लामा गुरु पुजारी रहेका छन् ।
शुद्ध मनले जे चितायो त्यही प्राप्त हुने बिश्वास रहेकाले हरेक वर्ष हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेका छन् । यहाँ दर्शन गर्नका लागि जुगल गाउँपालिका विभिन्न ठाँउहरु सेलाङ, गोल्चे, सन्चागाउ, लिदि, गुम्बा, पाङ्खर्पु, पाङ्ताङ, कातिके, ढाडे, बराम्ची, हाप्रा, बिशिङ्खर, याङ्लाकोट, पेप्टा, तिनघरे देखिको झाक्री सहित दर्शनार्थीहरु आउने गर्दछन् ।
त्यसैले जुन आधार लिए पनि त्यो सुख, शान्ति र समृद्धिका मनोकांक्षा पूरा गर्न पूजापाठ गर्ने उद्देश्यले निर्मित एक पवित्र तिर्थस्थल हो । जसको महिमा स्थानीय तामाङहरुको आगमन लामा र बोम्पो इतिहाससँग जोडिएको छ ।
अहिले दोमङ पोखरीमा बोम्पो मेला मात्र नभएर युवायुवतीको भेला पनि हुने गर्दछ । युवतीहरूले मिठो मिठो खानेकुरा घरबाटै बनाएर लान्छन् । पुजा सकिसके पछि सबै बाँडीचुडी खान्छन् । मेलामा स्थानिय उत्पादनहरु काक्रो, नास्पाती, आइरमक, रोटी आदिको ब्यापार पनि गर्ने गर्दछन् । मेलामा अघोसित हाट बजार लाग्ने गर्दछन् ।
बोम्पो पोखरी तथा थानमा प्रवेश गर्दा र बिदा गर्दा सोइ होले बोम्पो सोइ गरेर बुढाबुढी देखि बालबच्चासम्म उफ्रने गर्दछन् । जसले बोन्पो संस्कृतीलाई जीवित तुल्याउदछ । मेला भर्न आउने दर्शनार्थीहरुलाई रौनकता थपिदिन्छ र सबैमा उत्साह बढाइदिन्छ ।

प्रकृति र सम्भावना
दोमङ पाखरी ज्यादै सुन्दर एवम् मनमोहक स्थानमा अवस्थित छ । यस वरपरका डाँडा, बनजंगल लगायतका प्राकृतिक सम्पदाहरुले सबैलाई मोहित तुल्याउछ । अग्लो स्थानमा रहेकोले यहाँबाट जुगल हिमश्रृङखला, लेकको डाँडाकाडा, खोलानाला, झरना, गाँउबस्ति तथा झरनाहरु पनि देख्न सकिन्छ । प्राकृतिक मनोरम दृष्य, हुस्सुमाझ चउरभर सल्बलाइरहेका रङ्गीचुरुङगी फुलहरूको दृष्यले जो कसैलाई मोहनी लगाउदछ । हुस्सु झरी सहेर पनि केही नभएको आभाष दिलाउँदछ । हिउँदोमा लालीगुराँसको अवलोकन गर्न पनि आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।

प्रयासहरु
यसरी एैतिहासिक, धार्मिक तथा पर्यटकिय महत्व बोकेको दोमङ पोखरी गेगङको संरक्षण, प्रचारप्रसार हुनु आवश्यक छ । आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउन सक्ने यस पोखरीकोे बिकासका लागि स्थानिय वडा, गाउँपालिका, जिबिस तथा सरकारी, गैर सरकारी संघ संस्था र निकायको ध्यान आकृष्ट गराउनु जरुरी छ । स्थानीय ताम्बा, बोम्पो, लामा, राजनीतिज्ञ र बुद्धिजीविहरू सबै सम्बन्धित निकायहरु एकजुट भइ यस क्षेत्रको संरक्षण र बिकासको लागि लाग्नु पर्ने देखिन्छ । योजनाका खाकाहरू कोर्दा यस्ता कैयौ उपेक्षित तर महत्वपूर्ण स्थानहरुको बारेमा पनि गम्भीर हुनु जरुरी छ ।
यस महत्त्वपूर्ण ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा भौतिक पुर्वाधारहरुको अभावले दर्शनार्थीले सास्ती खेप्नु परेको देखिन्छ । पोखरी परिसरमा दर्शनार्थीलाई पानी परेको बेला ओत लाग्ने ठाँउ सम्म नहुनु, थानहरुमा पुजा गर्न जादा लाइन बस्ने ठाँउ नहुनु, फोहोर मैला ब्यबस्थापन तथा पोखरीको संरक्षण समिती नहुनु, मेला व्यवस्थापन समिती नहुनुले स्थानीय सरकार तथा प्रशासनको ध्यान नगएको प्रष्ट देखिन्छ । पोखरी आसपासका क्षेत्रहरुमा बास बस्न क्याम्पहरु बनाउन, होम्स्टेको निर्माण गर्न, खानेपानीको स्रोत व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

स्थानिय सञ्चार माध्यमहरुले दोमङ पोखरीको बारेमा विभिन्न समाचारहरु प्रकाशित गरेका छन् । यस क्षेत्रलाइ पर्यटकीय क्षेत्रको रूपमा बिकास गरी विदेशी मुद्रा समेत आर्जन गर्न सकिन्छ । एैतिहासिक सम्पदाको संरक्षण पनि हुने र धनआर्जन पनि हुने कार्यमा सबैको हातेमाले हुनु जरूरी छ । यसको लागि सम्बन्धित स्थानीय तहहरू बढी सकृय हुनु पर्ने देखिन्छ ।
लेखक
रोशनी गोले ( स्थानिय खोजकर्ता तथा पत्रकारिता अध्ययनरत बिध्यार्थी हुन)

दोमाङ पोखरी सम्बन्धी तयार पारिएको बृत्तचित्र हेर्नुहोस ।