गोपाल फ्युवा

धादिङ

यही साउन २७ गते धादिङ, नुवाकोट र रसुवाको संगम स्थल सिङल्हा मा भव्य मेला लाग्ने भएको छ । सिङ्ल्हा समुद्री सतह देखि ४०४०मि यचाईमा रहेको छ । सिङ्ल्हामा हरेक वर्ष झाँक्री, बोन्बो र लामाहरु उपस्थिति भइ विशेष पुजापाठ गर्ने गर्दछन।


यस वर्ष  रुबीभ्याली गाउँपालिकाले पर्यटन संगै धार्मिक कला संस्कृति जगेर्नाका निम्ति  सिङ्ल्हा जाने झाँक्री, बोन्बो र लामाहरुलाई खाना बस्न व्यवस्था गरेको कार्यक्रम संयोजक च्याङबा तामाङले बताए । साथै रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको हातबाट सिङ्ल्हामा २१ फिट्को त्रिशुल पनि अनावरण गरिने संयोजक तामाङले बताए ।
सिङ्ल्हामा त्यसदिन मेला हेर्न आन्तरिक तथा बाह्य  पर्यटकहरुको घुईचो लाग्ने गर्दछ भने त्यहाँबाट देखिने प्राकृतिक सन्दुरता र हिम् शृङ्खला गणेश हिमाल, पल्दोर पिक, नजिकैबाट नियाल्न सकिन्छ । साथै स्थानीय कलाकारहरुद्वारा नाचगान गर्दै रमाइलो गर्ने गर्दछन ।

सिङ्ल्हा पुग्नको लागि काठमाडौंबाट धादिङबेंशीसम्मको मिनि बस, माइक्रो बस र डिलक्स बसहरू माछापोखरी, बालाजुमा पाइन्छ । धादिङबेंशी मिलनटोलमा लेकाली काउण्टरबाट दामन पाख्रिन मार्ग हुँदै किम्ताङफेदीसम्म जीपको टिकट पाइन्छ । किम्ताङफेदीबाट अर्को जीपमा तरम्हाने, दार्खासम्म पुर्याउँदछ ।
पहिलो दिन डुुन्डुरेमा स्थानीय होटलमा बास बस्नुपर्दछ । भोलिपल्ट बिहानै नास्ता गरी झार्लाङतर्फ लाग्नुपर्दछ । झार्लाङ पहिरो वारी मेयममा खाना खाइ तार्जी, बेन्दी वला, बोद्ते हुँदै तिकासुङ डाडाबाट उकालो चढ्नुपर्दछ । वा, झार्लाङ पहिरो पार गरेर च्यम्थली, ओङगुल, छमगङ, सिचेत, तिकासुङ हुँदै उकालो चढ्नुपर्दछ ।


दोस्रो दिन मचेत आसपासमा बास बस्नुपर्दछ । बास बस्न त्यहाँ ओडार तथा गोठहरू प्रयोग गर्नुपर्दछ । त्यसैले खाना र बन्दोबस्तीको सामग्री आफैले व्यवस्था गर्नुपर्दछ ।
तेस्रो दिन बिहानै सिङ्ल्ह दर्शन त्यहाँका मनोरम दृष्य हेरेर फर्किन पनि सकिन्छ । सहजताको लागि एक रात थप रोक्न पनि सकिन्छ । झार्लाङ, सेर्तुङ, तिप्लिङ वा किस्पाङतर्फ फर्किन सकिन्छ ।
सत्यदेबी बाट पनि जान सकिन्छ। गोइसी हुँदै गोम्बोङ्जोङ, थङ्ब्रा,पङ्कर्चे,लुम्बु,सुन्दुङ म्हाने, छेर्मा पङ, हुँदै मेफ्रा उ मा पहिलो रातको बसाइ हुन्छ। दोश्रो दिन मेफ्रा उ, पन्दभारी,रुप्चेत हुँदै सिङ्ल्हा माता को दर्सन गर्नसकिन्छ र सोही दिन फर्केर पुन मेफ्रा उ मा बास बस्न आइपुग्छ। भोलि पल्ट त्यै बाटो फर्केर घर आइपुग्न सकिन्छ। जम्मा तीन दिनमा घर आइपुग्न सकिन्छ।

त्यस्तै धादीङ, खनियाबास, रुबी भ्यालीको सेर्तुङ मच्यत हुदै सिङ्ल्हा पुग्न सकिन्छ भने काठमाण्डौं त्रिशुली, किस्पाङको भाल्चे बाट गोङ्ग, रुप्चेत हुदै सिङ्ल्हा पुग्ने सबै भन्दा छोटो मार्ग पनि छ ।

यात्रा सहजताको लागि सिल्पिङ ब्याग, छाता, रेनकोट, वाटरफ्रुफ बुट, जाडोबाट बच्ने कपडा, लेक लाग्नबाट बचाउने औषधी, ड्राइ फुड आदि सामानहरू लिएर जानुपर्दछ । जुका  लाग्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनुपर्दछ । सिङ्ल्हा ४,०४० मिटर भन्दा बढी उचाइ अवस्थित रहेकाले त्यसको तयारी गरेकै राम्रो .
काठमाडौंदेखि झार्लाङ हुँदै सिङ्ल्ह पुगेर फर्किन ४ देखि ५ दिन लाग्दछ भने आसपासका गाउँहरूबाट ३ दिन मात्र लाग्दछ । काठमाडौंबाट आउनेहरूका लागि गाडी भाडा २,४००, सादा खाना १,२००, चिया नास्ता १,०००, औषधी तथा ड्राइ फुड १,५०० गरी ६,१०० खर्च चाहिन्छ । यो खर्च हिउँदमा कम र वर्षामा बढी लाग्दछ ।
गाउँ कटेर जंगलमा पुगेपछि बाघ, बँदेल, हाप्रे लगायत जंगली जनावरहरु पनि देख्न सकिन्छ ।

सिङल्हा को बारे जानकारी लिन चाहनुहुन्छ भने सिङ्ल्हा बारे तयार परिएको तलको बृत्तचित्रहरु हेर्नुहोस र साथीलाई शेयर गर्नुहोस,  सिङ्ल्हाको आशिर्वाद पाउनुहुनेछ ।