सिङल्हा र महिमा बृत्तचित्रमा

ल्हाप्साङकार्पो गणेश, बापील, ल्हारी आदि हिमालहरूको काखमा अवस्थित सिङल्हा क्षेत्र जैविक विविधता युक्त प्राकृतिक रूपमा मनोरम बौद्ध धार्मिक क्षेत्र र बोन धर्म प्रकृति पूजक धार्मिक आस्थाका प्राचीन संगम स्थल हो । तामाङ साँस्कृतिक, ऐतिहासिक र पुरातात्वतिक महत्वको यो स्थल सिङला, नेपालको मध्य पहाडि, हिमालय क्षेत्रकै सुन्दर दुर्लभ पर्यटकीय गन्तव्यहरू मध्य एक मानिन्छ । सिङल्हा आसपास यार्चागुम्बा, निर्मासि, पाँचऔले लगायतको दुर्लभ जडिबुटिका साथै पामो स्युक्पा, स्युक्पा, रा बार्लु, म्हेबार्लु लगायतका थरीथरीका धूपी, यहाँ अवलोकन गर्न सकिने ढकमक्क फुल्ने थरीथरीका लालिगुँरास, अनेकन सुगन्धित जंगली फूलहरु सिङलातिरै झुकिरहेका देखिन्छ । वरपरका अजंगका रहस्यमय चट्टानी डाँडाहरु र क्षितिजसम्म फैलिएका असंख्या डाँडाकाँडाको अनूपम दृश्यहरुले जो कोहिलाई मन्त्रमुग्ध बनाउँछ । तामाङभाषामा सीङगाल्हा, सिंगाला र सीङल्हा अचेल सीङला भनेर चिनिन्छ । यहाँ सीङको अर्थ शास्त्रीय तामाङभाषामा ༼སིང་ངེ་༽ सीङ  पवित्र, सुद्ध, चोखो थलो र ला (ल्हः) लेक, उचो देब स्थान भन्ने हुन्छ । सिङल्हाको बारेमा लामामतका बौद्धहरू तिब्बतमा पहिलो बौद्ध गोन्पा निर्माण गर्न पुगेका पद्मसम्भव समयका सवृद्ध क्षेत्र तथा मुलुकका रुपमा रहेको बताउँछन् । यस आसपासमा भुटान निवासी लामा सिङगाला रिन्पोर्छेले छामगोममा राखेका र साधना गर्नु भएका स्व. लामा रेमबहादुर तामाङले बताए अनुसार प्राचीन बौद्ध धार्मिक दुइसुमसाङग्ये त्रिकालदर्शिबुद्ध गुरू पद्मसम्भवको बार्छ्येलामसेल मार्गबाधा निवारण प्रार्थनामा बर्छेल्हामशिल शास्त्रमा यसरी लेखेका छन् । ू।।।गाङलागाङदुल कुरत्यननेः, चाङखाल्हायी ल्हथोगतुः। डाल्हाही गेञेन दाम्ला तागः, युलनी छावायी छा(श्‍योद् दुः । सिङल्हयी गेञेन डेक्पा च्यनः, ञिश्यु चाचिग दाम्ला तागः। माङयुल देयी ज्यामटीनदुः, गेलोङ श्यीला ङोइडुप नाङः।।।।। अनुवाद, जस्तालाई तदनरूप विनित गर्ने रूप देखाइ, चङखा नामक लेकको शिरमा पुग्नुभयो । युद्धका देव (डाल्ह) सँगको मित्रताको बाचाबन्धन, गर्मि देश (देवीघाट) मा सम्पन्न भयो ।सिङल्हाका २१ अभिमानी धर्मचारी मित्रशत्रुहरूसँग, पनि बाचाबन्धन बाँध्नु भयो ।माङयुलमा महाकरूणामयिक ज्ञानसमपन्न चार भिक्षुहरूले सिद्धत्व प्राप्त गर्नु भयो ।यहाँ तिब्बती बिद्वान राङज्युङ येसेका अनुसार माङयुल भन्नाले बालयुल अर्थात् काठमाडौं देखि उत्तर त्रिशुली देखि आजको तिब्बतको केरोङ माथिको सीमासम्मको मुलक माङयुल गुङथाङ जहाँबाट पद्मसम्भवलाई छाड्ने समयमा तिब्बती राजाले अन्तिम बिदाइ गरेको थिए भनि बताएका छन् । सिङल्हा, हाल धादिङ जिल्लाको खनियाबास गाँऊपालिका वडा नं.२ मा पर्दछ, सिङला पुग्ने अनेक बाटो तथा पदमार्गहरू छन् । सजिलोका लागि काठमाण्डौको बालाजु बाइपासबाट गल्छी, त्रिशुली, देवीघाट, बट्टार, त्रिशूली, सोलेबजार, सातदोबाटो, किस्पाङ काहुले, भाल्चे, गोङ्गासम्म मोटर बाटो रहेको छ । सातदोबाटो सम्म पक्कि पिच सडक ८० किमि र बाँकि ३० किस्पाङ गाउँपालिकाको बडा नं २ स्थित बाल्ची (भाल्चे) हुँदै गोङगा भञ्ज्याङसम्मको करिव ११० किलोमिटरक सडक यात्रा तय गर्नुपर्दछ । काठमाण्डौंबाट विहान भाल्चेको लागि नियमित बस छुट्ने गर्दछ । गोङगामा दुइ( तीन घर वस्ती रहेको छ । यहाँ बहुमुल्य सदुवाको खेती समेत रहेको छ । गोङगाबाट केही(माथि यालागाङमा सरकारी तथा स्थानीय भेडि गोठ रहेको छ । गोङगाबाट करिव साढे तीन घण्टाको उकाली जंगल भित्रको जैविक पैदलयात्रा पछि धादिङ, नुवाकोट र सुवाका तामाङहरूको भेडा, च्याङ्ग्रा तथा चौंरी, गोठहरू रहेको प्राकृतिक सुन्दरताले भरिएको रुपचेत पुगिन्छ । यहाँ गोठहरूमा बास बस्ने गरिन्छ र सिङल्हा माने रहेको टाकुरोमा पुग्न विहान पख करिव डेढ घण्टा उकालो हिँडेपछि पुग्न सकिन्छ । यही किम्बदन्तिले बताए अनुसार सिङलालाई त्यहाँका तामाङहरु ईष्टदेव तथा देवी अर्थात् बस्तीको शक्तिवान रक्षक देवताको रुपमा श्रद्धा, आस्थाभावका साथ पूज्दछन् । अप्सरा महिला देवीले सपनामा योन्जन गोठालोलाई भनेको कारणले सीङगालालाई देवीरचेलीको आशिर्वाद लिने अर्थमा गोनेङ्याका दिन चेलीहरुको हातबाट त्यहाँका भाई युवाहरूले प्रसाद ग्रहन गर्ने गरिन्छ । सिङला नुवाकोट, धादिङ, रसुवाका उत्तर तिब्बत तर्फ जाने प्राचीन राजकीय पदमार्गको केन्द्र हो । यही पदमार्ग भएर नुवाकोटका तामाङहरूले आफ्नो भेडीगोठ गोङगा, रूपचेत, मःचेत, पाङसाङ, सोमदाङ, खुर्पुगाङ, गालाङ, थाङमाचेत हुँदै मालागढी, साङजेनसम्म अचेल पनि लाने गर्दछ । भने भेडी गोठका साथै प्राचीनकालमा मालगढी, साङजेनबाट केरोङसाङपो नदि तरेर केरोङ माथि माङयुल गुङथाङ सम्म पुग्‍ने गर्दथ्यो । सिङल्हा क्षेत्र, प्राचीनकाल देखिनै धार्मिक आस्थाको केन्द्र रही आएको छ । सिङलालाई बौद्ध तथा प्रकृतिपूजक बोन धार्मिक आस्थाका पूण्यभूमि, तपोभूमि र सिद्धी प्राप्‍त गर्ने थलो मानिन्छ । सिङल्हा क्षेत्रला प्राचीन बौद्ध धार्मिक केन्द्रको रूपमा रहेको थुप्रै वृतान्तहरू पाइन्छ । भुटानबाट प्रकाशित हुने राष्ट्रिय कुनशेल दैनिकमा प्रधान सम्पदक रहि सकेका हाल दार्जिलिङ निवासी निमा छिरिङ शेर्पाले उललेख गरे अनुसार ू।।।तिब्बतमा राजा ठीस्रोङ देवचनले प्रथम केन्द्रीय गुम्बा अुअी साम्ये निर्माण गराउँदा उनका बौद्ध विरोधीहरूले तान्त्रीक अदभूद शक्तिद्वारा भूकम्प तथा भुँइचालो जस्तो प्राकृतिक प्रकोपहरू सृजना गरी अवरोध उत्पन्न गरेकाले राजाले महापन्डित शान्त रक्षितको सल्लाह बमोजिम तान्त्रीक महासिद्धि प्राप्‍त गुरू पद्मसम्भवलाई तिब्बत निमन्त्रणा गरेका थिए । राजाको निमन्त्रणालाई स्विकार गरी ७४७ ई.मा गुरु पद्मसंवभ नेपालको मारतिका९हलेसी०मा तपस्यामा लिन रहेको थिए । यसै वर्ष पद्मसम्भव अनेक मार्ग बाधाहरूलाई परास्त गरी तिब्बत पुगेका थिए । (शेर्पा, १९९९) । नेपाल आउँदा पद्मसम्भव आजको भारतको कुछ(विहारमा रहेको ओदन्तपुरी महाविहारबाट आउनु भएको र तिब्बतको साम्य गोम्बा पनि सोही ओदन्तपुरीको जस्तै निर्माण गरिएको उल्लेख छ । नेपाल आउँदा पद्मसम्भवले छ्युमीज्याङछ्युब (दामनको ऋषिश्वर), याङलेशो (फर्पिङ), ठमेलको थँबही(बिक्रमशिल महाविहार), यारिनाक (तेमाल), मारतिका, लोगेकार (लोमन्थाङ) आदि स्थानहरूमा गुरू पदम्सम्भव ध्यानमा बस्नुको साथै धर्मदेशना आदि गर्नु भएकोले यी स्थानहरूमा आजका दिन सम्म बौद्ध धर्मालम्बीहरूले तिर्थाटन गर्ने गरिआएको छ । नेपालबाट तिब्बत जाने क्रममा वागमतीको मुहान वाग्द्वार, चङखा ल्हा (कविलासको लेक) देवीघाट, फ्युक्ह्री डाल्हा देशबाट सिङला देश हुँदै केरोङ(माङयुल गुङथाङ हुँदै तिब्बत पुगेको बार्छेल्हामशिलमा उल्लेख स्थानहरूबाटै ज्ञात हुन्छ । निमा छिरिङ सेर्पा (१९९९) का अनुसार ८०२ ई. गुरू पद्मसम्भवले तिब्बती राजा ठिस्रोङ देवचनको अनुमति लिइ तिब्बतबाट बिदाभइ आउँदा राजाले माङयुल सम्म पुर्‍याउन पठाएको थियो । माङयुलबाट गुरू रिन्पोर्छेलाई सिङगाला पुग्न दुई दिन लाग्यो । सिङगला र सिङल्हामा राजा यक्ष थिए । राजा यक्षको एक हजार राजकन्याहरू र ५०० प्रजाहरूलाई बौद्ध धर्म देशना गर्नु भएको थियो । त्यहाँ गुरूपद्मसम्भव केही दिन बस्नु भयो । त्याहाँबाटै ङ्याबलीङमा पुग्‍नु भयो । ङ्याबलीङमा अझै पनि असुरहरूको राजा भएर बसि रहेक छन् अनि उनको युवावस्था यथावत छ।।।। भनि उल्लेख गरेका छन् । पुराना स्थानीय बौद्ध साधकहरूले सिङल्हामा गुरूपद्मसम्भवले धर्मदेशना तथा ध्यान गर्नु भएको स्थान मेफ्रा ऊ (खरानी ओढार)मा सम्पन्न भएको विश्वास गर्दछन् । यस वृतान्तले प्राचीन समयमा सिङला प्रदेश या क्षेत्रमा प्रभावशाली संघात्मक राज्यव्यवस्था रहेको संकेत गरेको छ । आज पनि सिङल्हाक्षेत्रमा साङगाम, बाल्ची, किस्पाङ आदि नुवाकोटतर्फ तिम्लीङ, सेर्तुङ, बोराङ, जारनाङ आदि धादिङ जिल्ला तर्फ र रसुवा तर्फ गालाङ, गोलजोङ, पाजुङ आदि प्राचीन बस्तीहरू जहाँ पुरानो ङीङमापा मतको प्रारम्भिककालको तिब्बती प्रणालीको बौद्ध धर्मको अभ्यास जीवन्त रहेको पाइन्छ साथै प्राचीन संघात्मक तथा गणात्मक राज्यका राजकीय शासकीय भवन, दरबारहरूका भग्नावशेषहरू यसक्षेत्रका पुराना तामाङ गाउँहरूमा रहेको पाइन्छ । यसै गरी तिब्बतका इतिहासका एक अर्को वृतान्तमा गुरूपद्मसम्भव तिब्बतबाट बिदावारी भएका बारेमा तिब्बतबाट प्रस्थान गर्नु हुँदा माङयुल गुङथाङ सम्म तिब्बतका राजा ठिस्रोङ देवचनले आफ्नो पुत्र राजकुमार मुतिक छेन्पोलाई पुर्‍याउन पठाएका थिए । माङयुलबाट केरोङ हुँदै पद्मसम्भव सिङल्हा पुग्नु भइ १००० उपाशकहरूलाई एक गुफा (मेफ्राउ)मा धर्म देशना पछि रातो पर्बत अर्थात् आजपनि सीङला प्रदेशको बहुमुल्य रातो पत्थर रूबी खानी रहेको पर्वतबाट ङीमा होइस्हेर प्रकाशको किरणको मार्गबाट भइ ङ्याबलीङ नामक असुरहरूको महाद्विपमा प्रस्थान गर्नु भएको थियो । पद्मसम्भव तिब्बतबाट प्रस्थानपछि सिङल्हा प्रदेश पुगेर सिङल्हाको रातो पर्बतबाट ङ्याबलीङमा प्रस्थान गर्नु भइ त्यहाँ युबावस्थामा असुरहरूको राजाको रूपमा रहनु भएको भन्ने यो वृतान्तले धादिङ जिल्लाको रूबी उपत्यका आजको रूबीभ्याली गाउँपालिका क्षेत्र जो सिङल्हा प्रदेसको एक बहुमुल्य पत्थर पाइने मूलक्षेत्र हो । यस क्षेत्रमा पाइने गरेको अनेकन बहुमुल्य पत्थरहरूमा रातो पत्थर रुबीको खानीयुक्त न्हेबेर पर्वतश्रृंखलाले प्राचीन सीङला प्रदेशको सम्पन्नताका रातो पर्वत रहेको मुलुकको यथार्तालाई सिद्ध गर्दछ । सिङल्हा यहाँको जनजिब्रोमा झुन्डिएको छ, नशानशामा फैलिएको छ, हरेक सँस्कारमा सिङल्हाको महिमा गाइन्छ । घरका प्रायः सबै मेला भर्न पुग्छन् । सिङल्हाकै महिमाले भरिएको साँस्कृतिक गीत ”साइकोले, म्हेन्दोमाया” रातदिन गाउँछन् । सिङल्हा तीर्थाटन तथा घुम्न जानेहरूले किम्ताङको ट्राउट माछा, त्रिशुलीको असला माछा, न्हुँचेतको कालिज, भाल्चेको मोले, गान्टे मुला र रायोको साग, गोङगाको सिस्नु र ढिँडो नखाएका पर्यटक विरलै पाइन्छन् । त्यस भेगका मानिसहरुको हसिला, रसिला र फरासिला व्यवहार र आतिथ्यता जो कसैलाई अविस्मरणीय लाग्दछ । प्राकृतिक, धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपले महत्वपूर्ण पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि सिङल्हाक्षेत्रको भौतिक पूर्वधार निर्माणमा कमि नै देखिन्छ । माचेत र रुपचेतमा सुविधायुक्त डोङखाङ बासस्थान तथा होमस्टेको विकास गर्नु आवश्यकता छ । रुपचेतदेखि माथि सिङल्हासम्म आकर्षक स्थानीय वातावरणमैत्री पदमार्ग सिँढी लगायतका संरचनाहरू निर्माण गर्न नितान्त आवश्यक छ । किस्पाङ गाँऊपालिका अध्यक्ष छत्र लामाको सक्रियतामा सिङल्हामाने तथा कुङकर वरिपरि संरक्षणार्थ निर्मित रेलिङ सहितको संरचनाको निर्माण कार्यलाई प्रशंसनीय मान्नु पर्ने हुन्छ । तीन जिल्ला र चार गाँऊपालिकाको शिरको रुपमा रहेको यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक संगमस्थल सिङलाको विकासमा चार स्थानीय निकायको समन्वय रहेमा यो भेगको जनताको जीनजीवन र मुलुकै तामाङ सांस्कृतक सम्पदा सिङल्हाले मुलुकमा संघियता र गणतन्त्र स्थापनाको अनुभूति गर्न सकिने छ । मुलुको आर्थिक संवृद्दीमा सिङल्हा एक कोशेढुङगा सावित हुनेमा शङ्का गर्ने ठाँऊ छैन । कथा लेखन : जीवन योञ्जन कथा सम्पादनः अजितमात तामाङ

 VIDEO