दामन पाख्रिन मार्ग र उत्तरी धादिङको बिकास 

 

पश्चिम एक नम्बर काण्ड खनियावास विद्रोहका कमाण्डर, पञ्चायती व्यवस्था विरुद्ध लड्ने प्रजातान्त्रिक सेनानी, सादगी र जनप्रीय नेता हुन् – दामन पाख्रिन । उनलाई धादिङ उत्तरी क्षेत्रका जनताले विकासका सम्बाहक, पश्चिम १ नम्बरका जनताले लडाकु कमाण्डर र तामाङ समुदायले विशिष्ट व्यक्तिको रुपमा लिइन्छ ।

निम्न वर्गीय सामान्य किसान परिवारमा जन्मनु भएका पाख्रिनको वाल्यकाल दुःख, पीडा र अभावमा नै बित्यो । किशोरवयमा नै स्थानीय सामन्तहरूको हेला, थिचोमिचो र शोषणको असंख्य दृष्य देखेका र भोगेका थिए । यसले उनमा अरू स्थानहरूको अवश्था अध्ययन गर्न जागृत गरायो । लगभग दुई वर्ष डुलुवा भएर गाउँहरू घुम्दा गरिव झन गरिव बनाउदै गएको देखे । यसैले युवाकालमा खान र लाउनको अभाव पूर्ति गर्न नागा हिलमा लाहुरे बनेर बुट बजार्न पुगे ।

छुट्टीमा आउँदा कम्मल खोस्ने, बुट लानेदेखि ट्याङ्का माग्ने साहुँहरू देखे । त्यति मात्र हैन, ऋणमा लगाइने व्याज, हिसाबमा गरिने गोलमाल, घरजग्गा बन्धकी लिलाममा खान अनेक जालझेल र कुटिल षड्यन्त्र देखे । त्यहाँका जनतालाई विभिन्न आरोपमा मुद्दा लगाइ आजित पारेको थियो । केही निहुँ नपाए हुक्का छोएको आरोपमा कुट्थे । गाउँ समाजमा रहेको यस प्रकारको दमन, शोषण र उत्पीडन हटाउनको लागि लाग्न उत्प्रेरित भए । लाहुरे जीवन त्यागेर गाउँ समाजमा रहेको सामान्ती शोषण प्रवृत्तिको अन्त्य गर्नका खातिर आवाज वुलन्द पारे । सम्झाइबुझाइ, अवज्ञा, विद्रोह गर्दै आन्दोलनको नेतृत्व गरे । यसै क्रममा खनियावास, दार्खा, मार्पाक, गुम्दी लगायत पश्चिम १ नम्बरका शोषक सामन्तीहरुसँग रहेको किर्ते तमसुक खोसेर च्यातिदिएका थिए । त्यस बापत उनलाई पक्राउ गरि जेलमा कोचेर ५५ लाखभन्दा बढी विगो दावी गरेका थिए । पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री विपिले ती सबै आरोप र मुद्दा आफैले जिम्मा लिए । त्यसपश्चात मात्र उनलाई सामान्य जरिवाना गरेर रिहाइ गरेका थिए । त्यसैले त्यस क्षेत्रका जनताले उनलाई मुक्तिदाता मान्ने गर्दछन् । त्यस अघि हरेक परिवारको घरखेत बन्धकमा थिए ।

दामनको जन्म पश्चिम १ नम्बर भोगटेनी गाउँ अन्तर्गत सालघारीमा भएको थियो । हालको राजनीतिक विभाजनमा बागमती प्रदेश धादिङ जिल्ला खनियावास गाउँपालिका वडा नं ५, सत्यदेवीमा सन् १९३७ मा भएको हो । विभिन्न मुद्दामा ३ पटक गरि करिव ८ वर्ष कठोर जेल जीवन बिताउनु परेको थियो । पञ्चायती, एकतान्त्रिक व्यवस्थाको विरोध गरेका कारण लामो समय भारतमा निर्वासनमा रहेका थिए । शिक्षक बनेर शैक्षिक समुन्नति, राजनितिज्ञ बनेर विकासका मूल फुटाउन र संसद बनेर जनताको आवाज उठाएका थिए । पञ्चायती शासन व्यवस्था विरुद्ध सशस्त्र क्रान्तिको अगुवाइ गर्दा सर्वस्वहरण सहित टाउकाको मोल तोकेका थिए । भुमिगतरुपमा नेपाली कांग्रेसले चलाएको पञ्चायत विरुद्धको हरेक आन्दोलनमा सकृय रुपमा सहभागी रहेका थिए । मेलमिलाप नीति पश्चात् गाउँ फिरेका उनलाई त्यस बेलाका स्थानीयले “रातो रिवनमा, प्रजातान्त्रिक समाजवाद हाम्रो जीवनमा“ भन्ने गीत गाउदै अविर र फुलमालाले स्वागत गरेर गाउँ परिक्रमा गराएको सम्झना उनका सहकर्मी डुक्पा लामा सम्झन्छन् । नेपाली कांग्रेसका जिल्ला सभापति समेत भएका प्रजातान्त्रिक सेनानी दामन पाख्रिन घाँटीमा क्यान्सरको कारण सन् १९९७ मा वीर हस्पिटलमा दुःखत निधन भयो ।

दुर्गमको विकास र गरिवको उत्थान उनको ध्येय थियो । उनी सम्लग्न हरेक आन्दोलन, विद्रोह र कार्यहरू यही ध्येयमा केन्द्रित थिए । ती आवाजहरू उठाउन जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायतमा प्रतिनिधि बन्न कोशिष गरे तर सफल हुन सकेन । जनताको अत्यावश्यकतालाई मध्यनजर गरि उत्तरी धादिङमा दामन पाख्रिनले शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानीको लागि पहल गरेका थिए । पहिलोपटक सडक र बिजुली बत्तीकोलागि डिपिआर गराएका थिए । प्रजातन्त्रको पुनः प्राप्ति पश्चात् २०४८ मा उनी प्रतिनिधिसभा सदस्य बने । विकास भनेको दुर्गमबाट गरिनु पर्छ भन्ने सोचाइ राख्ने दामनले धादिङको विकासमा स्योम्दाङसम्म सडक पुगाउनु पर्ने प्रस्ताव राखे । त्यसबेला जिल्ला विकास समिति मार्फत विकासका काम गर्नु पर्दथ्यो । प्रस्तावित धादिङवेशी – तिप्लिङ सडकमा बजेट हाल्न र काम शुरु गर्न नमान्दा तत्कालिन जिल्ला विकास समितिका सभापतिसँग विवाद गरेका थिए । उनले भनेका थिए, “ यदि धादिङवेंशीबाट काम नगरे म स्योम्दाङबाट सडक खनेर ल्याउछु ।“ यही विषयमा एलडिओ, सिडियो सँग पनि विवाद गरेर दबाव दिएका थिए ।

बिजुली पनि उनको प्रथमिकतामा थियो । त्रिशुलीको स्थानीय लाइन किम्ताङसम्म आइसकेको सन्दर्भमा सिमाना जोडिएको धादिङपट्टी पनि विस्तार गर्न अनेक निकायमा धाएर कागज मिलाएर अन्तिममा सदर गर्न मन्त्रालय पुग्दा मन्त्रीले नमान्दा मन्त्रीलाई थप्पड हानेका थिए । पछि दामनले तयार पारेको सोही व्यहोराको कागजमा हस्ताक्षर गर्न बाध्य पारेका थिए ।

शिक्षामा पनि उनको जोड थियो । माध्यमिक विद्यालय स्थापनार्थ उनले अनेकौ अफिसका ढोका चहारेका थिए । स्वास्थ्य, खानेपानी, सिंचाइ आदिको क्षेत्रमा पनि उनको योगदान अतुलनीय रहेको छ ।

यसप्रकार उनको सादगी, विकासप्रेमी, निश्वार्थ, जनप्रीय, साहसी, अत्यावश्यकता केन्द्रित सबै योगदानहरूलाई सम्झेर अहिले धादिङवेंशीदेखि स्योम्दाङ सम्मको १०७ किलोमिटर सडकलाई दामन पाख्रिन मार्ग नामकरण गरिएको छ । यस मार्गले धादिङको निलकण्ठ नगरपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, नेत्रावती डाबजोङ गाउँपालिका, खनियाबास गाउँपालिका, रुबीभ्याली गाउँपालिका हुदै रसुवाको आमाछोदिङ्मो गाउँपालिका जोड्दछ । जुन अहिले थोरै मात्र जोड्न बाकी छ ।

 

स्योम्दाङ देखि त्याङ्रो गङ, पाङ्साङ, तिप्लिङ हुदै सेर्तुङ र तिप्लिङ जोड्ने आदा खोला सम्म ३० किलोमिटर खनिसकेको छ । रसुवा धुन्चे हुदै तिप्लिङ सम्म मोटर बाटो संचालनमा छ । धादिङ बेसी देखि साङ्कोस, खनियाबास, बोराङ हुदै रुबीभ्याली गाँउपालिकाको अवी सम्म मोटर बाटो संचालनमा आईसकेको छ । सेर्तुङको गल्ग डाडा र आदा खोलाको थोरै काम सम्पन्न भए पछि दामन पाख्रिन मार्गको सम्पुर्ण ट्रयाक खोल्ने कार्य सम्पन्न हुने छ । यसबाट धादिङ उत्तरी क्षेत्रको उत्पादनले बजार पाउने र आत्मनिर्भर हुने उनको सोंच थियो । झार्लाङ, सेर्तुङ र तिप्लिङको आलु लगायतको खाद्यान्न, फलफुल र जडिबुटीलाई बजारसम्म पुर्याउन सकेमा मात्र पनि यहाँको आर्थिक स्थिति उकास्न सक्नेमा उनी दृढ थिए । त्यसबेला जिल्ला विकास समिति धादिङमा प्राविधिकको रुपमा काम गरेका गणेश शाहका अनुसार दामन पाख्रिन आफै फिल्डमा खटेर, जनतालाई भेटेर कहाँबाट सडक लाने कहाँ बिजुलीको पोल गाड्ने भनेर सल्लाह गर्दथे अनि प्राविधिकसँग सोही बमोजिमको सम्भावना र लागतबारे सोध्दथे । भन्छन् उनी “सादगी र निश्वार्थ उनी जनताको घरदैलोमा जे पाक्छ त्यही खान्थे । यस्तो नेता विरलै भेटिन्छन् ।“

दामन पाख्रिन मार्ग अन्तर्गतको आदा खोलाको भिरमा बाटो खन्दै गर्दा केही महिना अगाडि, माथी बाट पहिरो खसेर डोजर अपरेटर र सहयोगी को ज्यान गए पछि बाटो खन्न स्थगित गरिएको छ । सेर्तुङ पट्टिको बाटो भने गल्ग डाँडा छिचोल्दै छ ।

धादिङ बेसी बाट जादा लपाङ खोलामा पक्की पुल बनिसकेको छ । किम्ताङफेदी खोलामा पनि चाँडै पुल बन्दैछ । खनियाबास गाउँपालिकाको डुन्डुरे गजली खोलामा पक्की पुल बनिसकेको छ ।

बाटो बने पनि आवश्यक स्तरोन्नती गर्न नसक्दा बर्षामा भने किम्ताङ फेदीसम्म मात्र सार्वजनिक यातायात चल्दछ । निजी हलुङ्गो सवारी साधन भने जोखिम मोलेर चलाउने गर्दछन् । दार्खाभन्दा माथि २ महिना बाटो बन्द गर्नुपर्ने अवस्था छ । हिउँदमा काठमाण्डौ बाट सिधै खनियाबास सम्म बस लाग्छ । धादिङ बेसी बाट रुबीभ्यालीको बोराङ सम्म जीप गाडीहरु लाग्दछ । काठमाडौ त्रिशुली धुन्चे हुँदै स्योम्दाङ पाङसाङबाट तिप्लिङसम्म पनि गाडी गुडाउने प्रयास हुने गरेको छ ।
दामन पाख्रिन मार्ग सम्पन्न भएपछि उत्तरी धादिङको जनता प्रत्यक्ष लाभदायी हुने छ । स्थानिय उत्पादनहरुले बजार पाउने छ । उत्तरी धादिङका बिकासको मेरुदण्ड भनेकै पूर्वाधार विकास हो । विकट रहेकाले पूर्वाधार विकासमा धेरै लगानी गर्नु परिरहेको यथार्थ कसैबाट छिपेको छैन । त्यसैले योजनाको खाकाहरु कोर्दा यस्तो बिकट गाउँबस्तीहरुको आवश्यकतालाई प्राथमिक्तामा राखिनु पर्दछ ।

दामन पाख्रिनले ४० को दशकमा कल्पना गरेर कोरेका योजनाहरू, देखेका सपनाहरू बिस्तारै विपनामा साकार हुँदै गएको छ । उत्तरी धादिङको बिकास अब सम्भव हुँदै गएको देखिन्छ । उनको पहलमा सदरमुकाममा पनि बिजुली नहुदै खनियाबास गाउँपालिकाको सत्यदेवी सम्म बिजुली बत्ति बलेका थिए । बिभिन्न राजनितिक तथा प्रशासनिक अवरोधले दशकौंसम्म बिजुली लाइन बिस्तार गर्न नसके पनि अहिले रुवीभ्यालीको तिप्लिङ सम्म बिजुलीका खम्बाहरुमा तार टाँगीसकेका छन् । उनको विद्रोह, आन्दोलन, दृढता तथा पहलकदमीले उत्तरी धादिङका जनता बढी लाभान्वित भएका छन् । अझ खनियाबास आसपासको जनताले आफ्नो अधिकारको सदुपयोग गर्न पाएका छन् । उनले कोरीराखेका बिकासका खाकाहरुले पुर्णता पाईरहदा, जनताहरू लाभान्वित भइरहदा पक्कै पनि उनको आत्मा गदगद हुँदै होलान् । यस्ता दूरदर्शी नेताको आत्माले चिर शान्ती पाउन् । उनको मार्गमा हिड्नु र उनले देखेका सपनाहरू पुुरा गर्न लाग्नुमा नै उनीप्रतिको सच्चा सम्मान हुनेछ ।  –गोपाल फ्युवा